Close sidebar

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज, १३ भदौ – नेपालगन्ज १० नाइट रनको तयारी तीव्र बनेसँगै यस वर्षका विजेताले थाइल्याण्डको विश्वस्तरीय बाङ्सेन रनिङ सिरिजमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउने भएका छन्।
नेपालगन्ज म्याराथन र बाङ्सेन सिरिजबीचको सहकार्यअनुसार विजेताले बाङ्सेन–२१, बाङ्सेन–४२ वा बाङ्सेन–१० जस्ता प्रतिष्ठित प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम स्तरको इभेन्ट हो भने बाङ्सेन ४२ र १० एलिट स्तरका प्रतियोगिता मानिन्छन्।
नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक तथा प्रबन्ध निर्देशक रुट जिरोअजवानिचकर्नबीच समझदारीपत्रमा हस्ताक्षर भएसँगै यो अवसर सम्भव भएको हो। समझदारीअनुसार नेपालगन्ज म्याराथनको सिफारिसमा जाने धावक, अफिसियललाई बाङ्सेन सिरिजले निःशुल्क दर्ता र आतिथ्य सुविधा उपलब्ध गराउनेछ। त्यस्तै, बाङ्सेन सिरिजको सिफारिसमा नेपाल आउने खेलाडीलाई पनि नेपालगन्ज म्याराथन सिरिजले त्यस्तै सुविधा प्रदान गर्नेछ।
“छिमेकी मुलुकमै विश्वस्तरीय म्याराथन आयोजना भइरहेका छन्, त्यसबाट नेपाली धावकलाई लाभ दिलाउने उद्देश्यका साथ यो सहकार्य गरिएको हो,” संस्थापक ठकुरीले बताए।
नेपालगन्ज म्याराथनले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवसर दिलाउँदै आएको छ। विगत दुई वर्षदेखि नेपाल रन (युके) सँगको सहकार्यमा लण्डन म्याराथनमा सहभागिता दिंदै आएकोमा यस वर्ष भ्यालेन्सिया म्याराथन (स्पेन) र ओसाका म्याराथन (जापान) मा समेत अवसर दिने तयारी भइरहेको आयोजकले जानकारी दिएको छ।
नेपालगन्ज म्याराथनको छातामुनि ८ वटा इभेन्टहरू नियमित आयोजना हुँदै आएका छन्। यस वर्ष पनि गौघाट ग्रीन रन (असोज २८), राप्तीसोनारी नेचर रन (कात्तिक १), धारा नेपालगन्ज म्याराथन (मंसिर ६), नेपालगन्ज कनक्लेव (मंसिर ५), कर्णाली हाफ म्याराथन (मंसिर अन्तिम शनिवार), काठमाडौं २५के हेरिटेज रेस (मे १) तथा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स (अप्रिल मसान्त) हुनेछन्।
नेपालगन्ज नाइट रनलाई वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) बाट प्रमाणीकरण गरिएको छ। नेपालकै सबैभन्दा सरल रुटमा आयोजना हुने यो प्रतियोगिता हरेक वर्ष संविधान दिवस (असोज ३) को अवसरमा हुँदै आएको छ।
यसैबीच, नेपालगन्ज म्याराथनको ब्रान्ड एम्बासडरमा धाविका ममता थापा नियुक्त भएकी छन्। उनले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...