Close sidebar

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव
कोहलपुर, बाँके ।
पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ तथा अन्य उत्सवहरू महँगा होटेल र रेस्टुरेन्टमा तडकभडकका साथ मनाउने चलन तीव्र रूपमा बढिरहेको बेला बाँकेको कोहलपुरका समाजसेवी केशव शाही ले भने मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

कोहलपुर नगरपालिका वडा नम्बर ३ निवासी शाहीले आफ्नो जन्मदिनको अवसर पारेर कोहलपुर–५ स्थित नीलसागर सेवा आश्रम मा आश्रित असहाय, मानसिक रोगी तथा बेसहारा आमाबुवाहरूलाई भोजन सेवा गराउँदै जन्मोत्सव मनाएका हुन्।

Advertisement

सोमबार परेको आफ्नो जन्मदिन उनले श्रीमती हेमाचन्द्र शाही, बुवा टेकबहादुर शाही, आमा निर्मला देवी शाही लगायत सम्पूर्ण परिवारसँग मिलेर आश्रममै पुगेर सेवा कार्य गरेका थिए। आश्रममा रहेका २६ जना आश्रितलाई आफ्नै हातबाट खाना खुवाउँदै उनले जन्मदिनलाई पुण्य कार्यसँग जोडेको दृश्य निकै भावुक र प्रेरणादायी बनेको थियो।

जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा मानव सेवामा खर्च गर्नु नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै समाजसेवी शाहीले भने,
“होटेलमा गएर हजारौँ रुपैयाँ खर्च गर्नु भन्दा आश्रममा रहेका असहाय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई एक छाक भोजन गराउन पाउँदा आत्मिक आनन्द मिल्छ। सकेसम्म सबैले यस्ता अवसरमा आश्रममै आएर सेवा गर्नुपर्छ।”

Advertisement

उनकी श्रीमती हेमाचन्द्र शाही ले पनि आश्रमको अवस्था बुझ्दा मन भावुक बनेको बताउँदै जन्मदिनको अवसरमा सेवा गर्न पाउँदा आफूहरू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिइन्।

कार्यक्रममा नेकपा एमाले बाँके जिल्ला सचिव बलराम भट्टराई, युवा संघ नेपाल बाँकेका इन्चार्ज सन्दीप बानियाँ, स्थानीय समाजसेवी, शुभेच्छुक तथा विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मानव सेवा आश्रमकी डाक्टर कुन्ती तिवारी ले पछिल्लो समय जन्मदिन, पुण्यतिथि तथा विभिन्न अवसरमा आश्रममै आएर सहयोग गर्ने क्रम बढ्दै गएको बताइन्। उनले सडकमा बेवारिसे र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई उद्धार गरी आश्रममा राखेर सेवा गर्दै आएको जानकारी दिँदै दीर्घकालीन व्यवस्थापनका लागि “आश्रय कोष” समेत स्थापना गरिएको बताइन्।

Advertisement

समाजमा भोजभतेर र तडकभडकलाई प्रतिष्ठाको विषय बनाइरहेको अवस्थामा समाजसेवी केशव शाहीले देखाएको यो कार्यलाई धेरैले सकारात्मक सन्देशका रूपमा लिएका छन्। जन्मदिनलाई केवल मनोरञ्जन र खर्चको माध्यम नभई मानव सेवासँग जोड्न सकिन्छ भन्ने सन्देश उनले व्यवहारमै उतारेका छन्।

आजको नेपाली समाजमा बढ्दो फजुल खर्च र प्रदर्शनमुखी संस्कृतिबीच शाही परिवारको यो उदाहरणले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सेवाभावलाई पुनः एकपटक उजागर गरेको छ।

सम्बन्धित खवर

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...

कोहलपुरमा प्रथम राष्ट्रिय मेयरकप ब्याडमिन्टन भव्य रूपमा सम्पन्न

🏸 कोहलपुर, बाँके — खेलकुदको उदीयमान सहरका रूपमा उभिँदै...