बैजनाथ गाउँपालिकाको ८१ करोड ७१ लाखको बजेट प्रस्तुत, शिक्षा–स्वास्थ्य र पूर्वाधारमा विशेष जोड
बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८१ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष निर्मला रोकायले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको सभाध्यक्षतामा राष्ट्रिय गान तथा बैजनाथ गानसँगै सुरु भएको बैठकमा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखेको छ।
उपाध्यक्ष रोकायका अनुसार बजेटका प्रमुख स्रोतहरूमा संघीय सरकारबाट प्राप्त हुने १५ करोड ६७ लाख रुपैयाँ समानीकरण अनुदान, प्रदेश सरकारबाट १ करोड ८ लाख ७३ हजार रुपैयाँ समानीकरण अनुदान, संघीय सरकारको ३० करोड ५५ लाख रुपैयाँ सशर्त चालु अनुदान तथा ७ करोड १७ लाख रुपैयाँ सशर्त पुँजीगत अनुदान रहेका छन्।
त्यस्तै, संघीय सरकारबाट २ करोड ४३ लाख रुपैयाँ विशेष अनुदान, प्रदेश सरकारबाट २० लाख रुपैयाँ विशेष अनुदान, संघीय सरकारबाट ३० लाख रुपैयाँ समपूरक अनुदान तथा प्रदेश सरकारबाट ७५ लाख रुपैयाँ समपूरक अनुदान प्राप्त हुने अनुमान गरिएको छ।
राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट १४ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेश सरकारबाट १ करोड ४१ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। गाउँपालिकाले ५ करोड रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य राखेको छ भने मालपोत कार्यालयमार्फत जग्गा रजिष्ट्रेसन शुल्कबाट करिब २ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रस्तुत बजेटमा शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, घरेलु उद्योग तथा सहकारी सशक्तीकरण, श्रम तथा रोजगार सिर्जना, भौतिक पूर्वाधार निर्माण, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
साथै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, सुशासन प्रवर्द्धन गर्ने तथा संस्थागत क्षमता विकासका कार्यक्रमहरूका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँसभामा प्रस्तुत बजेटमाथि थप छलफल तथा सुझाव संकलन गर्न सभाध्यक्ष शाहीले गाउँसभाको तेस्रो बैठक आगामी असार ३१ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायका अनुसार उक्त बैठकबाट बजेटमाथि विस्तृत छलफल गरी पारित प्रक्रिया अगाडि बढाइनेछ।
बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय विकास, सेवा प्रवाह सुधार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ।































प्रतिक्रिया