Close sidebar

अन्तिम समयसीमा सकिँदै : दर्ता नगरेका सामाजिक सञ्जाल बिहीबारदेखि निष्क्रिय हुने सरकारको तयारी

काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन दर्ता अनिवार्य गरेको छ । तर तोकिएको अन्तिम समयसीमा सकिँदासम्म कुनै नयाँ सामाजिक सञ्जालले सूचीकरणका लागि निवेदन नदिएपछि बिहीबारदेखि दर्ता नभएकालाई निष्क्रिय गर्ने तयारी भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार कार्यालय समय सकिए पनि अनलाइनमार्फत मध्यरातिसम्म निवेदन दिन सकिने भएकाले बिहीबार बिहानसम्म पर्खने तयारी छ । उनले भने, “यदि बिहानसम्म निवेदन आएन भने मन्त्रिपरिषद्को निर्णयअनुसार दर्ता नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने प्रक्रिया अघि बढाइनेछ ।”

Advertisement

मन्त्रालयका अनुसार हालसम्म नेपालमा पाँच वटा सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन् । तीमध्ये भाइबर, बिटक, टिकटक र निम्बज रहेका छन् भने टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर अन्य लोकप्रिय सामाजिक सञ्जालले अहिलेसम्म कुनै सम्पर्क नगरेको मन्त्रालयको भनाइ छ ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउने निर्णय गरेको थियो । सर्वोच्च अदालतको आदेश र सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका–२०८० अनुसार सरकारले यस्तो कदम चाल्न लागेको हो ।

Advertisement

निर्देशिकाले सामाजिक सञ्जाललाई नेपालभित्र सञ्चालनका लागि दर्ता अनिवार्य गरेको छ । यसले प्रयोगकर्ताको डेटा सुरक्षा, गलत सूचनाको नियन्त्रण, अभद्र व्यवहार नियन्त्रण तथा सञ्चालनकर्तालाई कानूनी जिम्मेवारीमा ल्याउने व्यवस्था गरेको छ ।

मन्त्रालयले दर्ता ढिलो गर्ने प्लेटफर्मलाई पछि पुनः सक्रिय गर्न सकिने व्यवस्था गरेको छ । तर हाल तोकिएको समयसीमा बेवास्ता गर्ने सामाजिक सञ्जाल निष्क्रिय हुने अवस्थामा पुगेका छन् । अब बिहीबार बिहानसम्म नयाँ प्लेटफर्म सूचीकरणमा आउँछन् वा आउँदैनन् भन्नेमा सबैको चासो रहेको छ।

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...