लुम्बिनीका सामाजिक विकास मन्त्री तिमिल्सिनाद्वारा विजयादशमीको शुभकामना
Gen-Z आन्दोलनका सहिदलाई श्रद्धाञ्जलि
नेपालगञ्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनतामा शुभकामना व्यक्त गरेका छन्।
मन्त्री तिमिल्सिनाले दशैंको अवसरमा जारी गरेको सन्देशमार्फत हालैको Gen-Z आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइते तथा पीडितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले लोकतन्त्रको यात्रामा सहिदहरूले पुर्याएको योगदानलाई विशेष स्मरण गर्दै उनीहरूको बलिदानलाई मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए।
“उहाँहरूको साहस, बलिदान र लोकतन्त्रप्रति गरेको योगदान अत्यन्त महत्वपूर्ण छ,” मन्त्री तिमिल्सिनाले भनेका छन्, “यसै कारण, यस वर्षको दशैंलाई सामान्य टिका, जमरा र पारिवारिक भेटघाटसम्म सीमित गरी मनाउने निर्णय गरेको छु।”
उनले सामाजिक प्रचलनअनुसार विगतमा हुँदै आएका नाचगान, मनोरञ्जनात्मक कार्यक्रम वा घरआँगनमा हुने भीडभाडलाई यसपालि न्यून पार्न आग्रह गरेका छन्। मन्त्री तिमिल्सिनाले दशैंलाई पारिवारिक एकता, संस्कार र आत्मचिन्तनको पर्वका रूपमा आत्मसात गर्न सबैमा आह्वान गरेका छन्।
शुभकामना सन्देशमा उनले विजयादशमीलाई केवल रमझमको पर्व मात्र नभई सद्भाव, मेलमिलाप र संस्कृतिको धरोहरका रूपमा हेरिनुपर्नेमा जोड दिएका छन्। उनले भने, “समाजलाई शान्ति, एकता र सद्भावको बाटोमा अघि बढाउन दुर्गा भवानीको कृपा हामी सबैमा रहोस् भन्ने कामना गर्दछु।”
प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत मन्त्री तिमिल्सिनाले विशेषतः कठिन परिस्थिति झेलेका परिवार, विपन्न वर्ग, दलित, महिला तथा सीमान्तकृत समुदायका लागि यस पर्वले आशा र सहकार्यको वातावरण सिर्जना गरोस् भन्ने विश्वास व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देशमा आफ्नो व्यक्तिगत निर्णय सार्वजनिक गर्दै यस वर्ष कुनै पनि भव्य कार्यक्रम, भोज वा मनोरञ्जनात्मक गतिविधि नगर्ने घोषणा गरेका छन्। “यो समय सहिदहरूको सम्झनामा एक मिनेट मौन बस्ने, परिवारसँग आत्मीयता साट्ने र समाजका पीडितसँग ऐक्यबद्धता जनाउने समय हो,” उनले भनेका छन्।
मन्त्री तिमिल्सिनाको शुभकामना सन्देशलाई सामाजिक सञ्जालमा पनि ठूलो संख्याले सेयर गरेका छन्। कतिपयले सहिदप्रतिको सम्मान स्वरूप दशैंलाई सरल तरिकाले मनाउने उनको निर्णयलाई सराहना गरेका छन्।
उनले विजयादशमीलाई सांस्कृतिक धरोहर र सामूहिक आत्मबलको पर्वका रूपमा मनाउन सबैलाई आह्वान गर्दै दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।































प्रतिक्रिया