राप्तीसोनारीमा ‘प्रथम सृजना कप नकआउट फुटबल प्रतियोगिता–२०८२’ आयोजना हुँदै
राप्तीसोनारी गाउँपालिकामा खेलकुदमार्फत युवालाई एकताबद्ध गर्दै संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित ‘प्रथम सृजना कप नकआउट फुटबल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ। श्री सृजना युवा स्पोर्ट्स क्लब, राप्तीसोनारी–५ को आयोजनामा प्राकृतिक स्रोत तथा वन्यजन्तु संरक्षण भन्ने मूल नारासहित प्रतियोगिता सञ्चालन हुन लागेको हो।
आयोजक क्लबद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताको टिम दर्ता अन्तिम मिति २०८२ पौष २२ गते तोकिएको छ। सोही दिन दिउँसो ४ बजे खेल तालिका सार्वजनिक गरिनेछ। प्रतियोगिता भने २०८२ पौष २५ गतेदेखि स्थानीय खेल मैदानमा सुरु हुनेछ।
Advertisement
प्रतियोगितामा विजेता टिमले नगद ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क ३ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ।
यसका साथै खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई प्रोत्साहन गर्न विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछन्।
जस अन्तर्गत
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी तथा सर्वाधिक गोलकर्ता लाई जनही ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा सहभागी हुने टिमले १५ जना खेलाडी, १ मुख्य प्रशिक्षक र १ टिम व्यवस्थापक सहितको नामावली अनिवार्य रूपमा क्लबको लेटरप्याडमा बुझाउनुपर्नेछ। साथै, राप्तीसोनारी गाउँपालिका बाहिरका खेलाडीलाई पनि प्रतियोगितामा सहभागी गराउन पाइने व्यवस्था गरिएको छ।
Advertisement
क्लबका सचिव निरेश बुढा मगर ले प्रतियोगिताले स्थानीय फुटबलको स्तर उकास्नुका साथै युवालाई सकारात्मक दिशातर्फ डोर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“सृजना कप केवल खेल प्रतियोगिता मात्र होइन, युवाको क्षमता उजागर गर्ने र संरक्षणप्रतिको सचेतना फैलाउने साझा अभियान हो। स्थानीय खेलाडीलाई अवसर दिनु नै हाम्रो मुख्य लक्ष्य हो।”
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमअनुसार सञ्चालन गरिनेछ। खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने पनि आयोजकले स्पष्ट पारेको छ।
स्थानीय तहमा यति व्यवस्थित फुटबल प्रतियोगिता हुन लागेको खबरपछि राप्तीसोनारी क्षेत्रका खेलप्रेमी तथा युवाहरूमा उत्साह थपिएको छ।






































प्रतिक्रिया