कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस भव्य: निःशुल्क दन्त तथा स्वास्थ्य शिविर सञ्चालन
बाँकेको कोहलपुरमा ४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। हरेक वर्ष फागुन १५ गते मनाइँदै आएको मगर दिवसको अवसरमा यस वर्ष पनि बाजागाजासहित बृहत् सांस्कृतिक ¥याली, औपचारिक समारोह तथा निःशुल्क दन्त तथा स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो।
नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर–बाँकेको आयोजनामा तथा कौशिल्या अस्पताल को सहकार्यमा एकदिने निःशुल्क दन्त तथा स्वास्थ्य चेकजाँच शिविर सम्पन्न गरिएको थियो। शिविरमा स्थानीय सर्वसाधारण तथा मगर समुदायका सदस्यहरूले स्वास्थ्य परीक्षण गराएका थिए।
कार्यक्रमको औपचारिक उद्घाटन पूर्ण प्रसाद आचार्य नगरप्रमुख ले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा नगरप्रमुख आचार्यले मगर समुदाय नेपालको साहसी, पराक्रमी र ऐतिहासिक योगदान बोकेको समुदाय भएको उल्लेख गर्दै समुदायको सम्मानमा नगरपालिकाले स्थानीय विदा दिँदै आएको तथा हरेक वर्ष बजेट विनियोजन गर्दै आएको जानकारी दिए।
औपचारिक समारोह अघि कोहलपुर चौराहाबाट सुरु भएको बृहत् सांस्कृतिक ¥याली न्युरोड, साझा चोक हुँदै कोहलपुर–११ स्थित न्युरोड मैदानसम्म पुगेको थियो। ¥यालीमा मगर समुदायको मौलिक संस्कृति झल्काउने बाजागाजा, पारम्परिक नृत्य तथा सांगीतिक प्रस्तुति आकर्षणका केन्द्र बनेका थिए।
“ऐतिहासिक मगरात सभ्यताको गर्विलो इतिहासलाई पुनर्लेखन गरौँ, मगरात दर्शन निर्माणको संकल्प गर्दै संघको ४४औँ स्थापना दिवस मनाऔँ” भन्ने मूल नारासहित बाँकेका विभिन्न पालिकामा समेत राष्ट्रिय मगर एकता दिवस मनाइएको आयोजकले जनाएको छ।
दिवसले मगर समुदायको पहिचान, एकता र सांस्कृतिक संरक्षणप्रति प्रतिबद्धता झनै सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।































प्रतिक्रिया