Close sidebar

राप्तीसोनारीमा विकासको गति

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ देखि वडा नम्बर २ सम्मको सडक अब नयाँरूपमा उज्यालो र व्यवस्थित बनेको छ । गाउँपालिकाले करिब ६८ लाख ६७ हजार रुपैयाँ खर्च गरेर ५१० मिटर लामो नालीसहित सडक कालोपत्रे गरेको हो ।
आर्थिक वर्ष ०८१/०८२/०८३ को बजेटबाट सम्पन्न यो आयोजना गाउँपालिकाले ‘सफा, सुरक्षित र व्यवस्थित गाउँपालिका’ अभियानअन्तर्गत अघि सारेको हो । विगतमा यो सडक हिलाम्य, धुलाम्य र पानी जम्ने ठाउँका रूपमा चिनिन्थ्यो । वर्षातमा सडकमा पानी पोखरीझैं जम्थ्यो, हिँड्न गाह्रो हुन्थ्यो, सवारीसाधन फस्ने समस्या थियो । तर अहिले नालीसहितको कालोपत्रे सडक बनेपछि बस्तीको स्वरूप नै बदलिएको छ । स्थानीय बासिन्दा तुलाराम खत्री भन्छन्, ‘पहिले बाटो हिँड्दा हिलोमा फसिन्थ्यो, बाइक चलाउँदा डर लाग्थ्यो । अहिले भने बाटो कालोपत्रे भएपछि सवारी सहज चल्छ, गाउँ सफा र सुन्दर देखिन्छ ।’
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार यो परियोजना गाउँपालिकाको दिगो पूर्वाधार विकास योजनाको महत्वपूर्ण हिस्सा हो । ‘पहिले यो बाटो गाउँकै समस्या बनेको थियो,’ उनले भने, ‘अहिले नाली र कालोपत्रे सडक बनेपछि आवागमन सहज भएको छ, ढुवानीमा सहजता आएको छ र बस्ती सफा देखिन थालेको छ ।’
अध्यक्ष पौडेलका अनुसार यो योजना केवल भौतिक पूर्वाधारको विकास होइन, नागरिकको जीवनस्तर सुधारसँग पनि जोडिएको छ । उनले भने, ‘हामीले योजना बनाउँदा नागरिकका मागलाई प्राथमिकता दिएका छौं । यस्तो कामले गाउँपालिकाको छवि सुधारिएको छ ।’ उनले आगामी वर्षहरूमा बाँकी वडाहरूमा पनि यस्तै सडक र नाली निर्माणलाई निरन्तरता दिने बताए । गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारूले सडक र नाली निर्माणले बस्तीको सरसफाइ र स्वास्थ्यमा सुधार ल्याएको बताइन् । उनले भनिन्, ‘पहिले सडकमा फोहर पानी पोखिन्थ्यो, दुर्गन्ध आउँथ्यो र बालबालिकामा रोग देखिन्थ्यो । अहिले गाउँ सफा छ, नालीले पानीको निकास सहज बनाएको छ र कालोपत्रे सडकले धुलो–हिलोको समस्या हटाएको छ ।’
उपाध्यक्ष थारूका अनुसार गाउँपालिकाले नागरिकले दैनिक महसुस गर्ने साना तर प्रभावकारी योजनालाई प्राथमिकता दिएको छ । ‘हामी ठूला भवन वा परियोजनाभन्दा बढी जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने काममा केन्द्रित छौं,’ उनले भनिन्, ‘यो सडक र नाली निर्माण त्यसैको उदाहरण हो ।’ गाउँपालिकाले परियोजनाको सम्पूर्ण प्रक्रिया पारदर्शी रूपमा सञ्चालन गरेको जनाएको छ । काम सुरुदेखि अन्त्यसम्म स्थानीय जनप्रतिनिधि, इन्जिनियर र बासिन्दाको सहभागिता रह्यो । अध्यक्ष पौडेलका अनुसार, ‘हामी विकासका सबै काममा जनसहभागिता र निगरानीलाई अनिवार्य बनाएका छौं । जनता आफैंले हेर्ने र बुझ्ने वातावरण बनेको छ, त्यसैले काम गुणस्तरीय भएको छ ।’
यस सडक र नालीले गाउँपालिकाको छेउछाउका बस्तीहरूमा आवागमन मात्र सहज बनाएको छैन, स्थानीय व्यवसायमा पनि सकारात्मक प्रभाव पारेको छ । सडक राम्रो भएपछि स्थानीय पसलहरूमा ग्राहक बढेका छन्, कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ । राप्तीसोनारी गाउँपालिकाको यो परियोजना दिगो विकास, सरसफाइ र जीवनस्तर सुधारतर्फको ठोस कदमको रूपमा लिइएको छ । नाली र कालोपत्रे सडकले गाउँको स्वरूप मात्रै होइन, सोच पनि परिवर्तन गरेको छ । स्थानीयहरू गर्वका साथ भन्छन्, ‘अब हाम्रो गाउँ सहर सरह बन्न थालेको छ ।’ राप्तीसोनारी गाउँपालिकाको यो नालीसहितको कालोपत्रे सडक केवल आवागमनको सहजता होइन, विकास र नागरिक सुखसँग जोडिएको उपलब्धि बनेको छ । यसले गाउँपालिकाको विकास दृष्टिकोण स्पष्ट गर्छ । विकासका प्रत्येक पाइला नागरिकको सुविधातर्फ केन्द्रित छन् ।

Advertisement

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...