सुर्खेती एकता समाज बाँकेद्वारा नयाँ वर्ष लक्षित भव्य पिकनिक सम्पन्न
कोहलपुर, बाँके — नयाँ वर्षको अवसरमा “हाम्रो सुर्खेती एकता समाज, बाँके जिल्ला” ले आयोजना गरेको भव्य पिकनिक कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा करिब १५० जना सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
सुर्खेतबाट बाँके जिल्लामा बसोबास गर्दै आएका सुर्खेती समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए। उनले सुर्खेती समुदायलाई एउटै छातामुनि संगठित गर्दै सामाजिक एकताको सन्देश दिन कार्यक्रम महत्वपूर्ण रहेको बताए।
कार्यक्रमको उद्घाटन गुर्भाकोट नगरपालिका–१४ का पूर्व वडाध्यक्ष शशबहादुर घलेले गरेका थिए। उद्घाटन समारोहमा सुर्खेतबाट आएका जेष्ठ नागरिकहरू शशबहादुर घले, बमबहादुर बुढा र जोरसिंह बुढाको समेत उपस्थिति रहेको थियो।
त्यस्तै उक्त सस्था का कोहलपुर नगरपालिकाका नगर अध्यक्ष श्यामकुमार अधिकारीले कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै सामाजिक एकता र सहकार्यलाई अझ मजबुत बनाउन यस्ता गतिविधिहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए।
संस्थाका अध्यक्ष गुरुङले सुर्खेतबाट बाँकेमा आई बसोबास गर्ने तर अझै संस्थासँग नजोडिएका सम्पूर्ण सुर्खेतीहरूलाई पनि समाजमा आबद्ध हुन आग्रह गरे।
कार्यक्रममा सहभागीहरूले आपसी शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको अवसरलाई सामूहिक उत्सवका रूपमा मनाएका थिए।
संस्थाले विगतदेखि नै बाँके जिल्लामा रहेका विपन्न तथा गरिब समुदायलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
वि.सं. २०८१ सालमा स्थापना भएको यो संस्था छोटो समयमै सामाजिक गतिविधि र सामुदायिक एकतामा सक्रिय रहँदै बाँके जिल्लामा एक उदाहरणीय सामाजिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ।































प्रतिक्रिया