पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सुरु हुँदै, बाँकेमा तयारी पुरा
पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि देशभर सुरु हुँदैछ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सोमबार खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको छ ।
सरकारले अभियानअन्तर्गत देशभर सामुदायिक र संस्थागत विद्यालयको कक्षा ६ देखि १० सम्म पढ्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी तथा बालिकालाई खोप लगाउने तयारी गरेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख, वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले एचपिभी खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । जिल्लाभर कुल ३६ हजार ९ सय ५० जना किशोरी तथा बालिकालाई खोप दिइनेछ ।
जिल्लामा रहेका ८ वटा स्थानीय तहमध्ये ४ वटामा पहिलो चरणमा र बाँकी ४ वटा स्थानीय तहमा दोस्रो चरणमा खोप अभियान सञ्चालन हुने उनले बताए ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार माघ २२ गतेदेखि फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा खोप अभियान सञ्चालन हुनेछ । यी ४ वटा स्थानीय तहका २४ हजार ५ सय ८९ जना किशोरी तथा बालिकालाई उक्त खोप दिइनेछ ।
यस्तै माघ ३० गतेदेखि फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुरका १२ हजार ३ सय ६१ जनालाई खोप दिने कार्यक्रम रहेको श्रेष्ठले बताए । खोप अभियान सञ्चालनका लागि जिल्लाभर २ सय ९३ वटा खोप केन्द्र स्थापना गरिएको कार्यालयले जनाएको छ ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले यौन सम्पर्क हुनुभन्दा अगाडि खोप लगाउँदा बढी प्रभावकारी हुने भएकाले सरकारले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी तथा बालिकालाई खोप लगाउन लागेको बताए । विशेषगरी यौन सम्पर्कका माध्यमबाट भाइरस संक्रमणका कारण पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहेको उनले सुनाए ।































प्रतिक्रिया