Close sidebar

जमुनाह नाका भएर ठुलो सङ्ख्यामा नेपाली महाकुम्भमा जाँदै

नेपालगन्ज पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट भारतको उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको हिन्दु धर्मावलम्बीको महाकुम्भ मेलामा ठुलो सङ्ख्यामा तिर्थयात्रु जाने गरेका छन्। 
पुस २९ गतेबाट सुरु भएर फागुन १४ सम्म (महाशिवरात्रिका दिनसम्म) सञ्चालन हुने सो मेलामा जमुनाह नाकाबाट मात्रै दैनिक पाँच हजारसम्म हिन्दु धर्मावलम्बी स्नानका लागि जाने गरेको पाइएको छ।
गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता रहेका कारण नेपालबाट पनि दैनिक ठुलो सङ्ख्यामा श्रद्धालु प्रयागराज जाने गरेको पाइएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ। 
जमुनाह नाका हुँदै दैनिक तीनदेखि पाँच हजारभन्दा बढी नेपाली हिन्दु धर्मावलम्बी महाकुम्भमा जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताउनुभयो। 
उहाँले सोही कारणले केही दिनयता नाकामा ठुलो भीडभाड बढेकोले सुरक्षाका लागि प्रहरीले सीमा क्षेत्रमा थप व्यवस्था मिलाएको बताउनुभयो। 
जमुनाहबाट ३८५ किलोमिटर दुरीमा रहेको प्रयागराजमा महाकुम्भ मेलाका लागि मात्र रुपैडियाबाट दैनिक १० भन्दा बढी यात्रुबहाक गाडी सञ्चालन रहेको र ती सबै गाडीमा जाने श्रद्धालुमा नेपाली बढी हुने गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताउनुभयो। 
उहाँका अनुसार रुपैडियास्थित डिपोबाट दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म प्रयागराजका लागि गाडी सञ्चालन भइरहेका छन्। यसैगरी नेपालगन्ज र रुपैडियाबाट रिजर्भ गाडी पनि ठुलो सङ्ख्यामा दैनिक गइरहेका छन्। 
१४४ वर्षपछि लाग्ने यो महाकुम्भ आफ्नो जीवनकालमा लागेकाले यस्तो महत्त्वपूर्ण अवसर सदुपयोग गर्न महाकुम्भ मेला पुगेर स्नान गरेर आएको नेपालगन्ज ८ का अरुणा श्रेष्ठले बताउनुभयो। 
उहाँले महाकुम्भमा धेरै नेपाली भेटिएको जनाउँदै देशभरबाटै नेपालीहरू त्यहाँ गएको बताउनुभयो। सार्वजनिक गाडीमा जाँदा भाडा सस्तो हुँदा पश्चिम नेपालका हजारौं हिन्दु धर्मावलम्बी गाडीमा गइरहेको आफूले देखेको श्रेष्ठले बताउनुभयो। 
महाकुम्भमा पुगेर फर्किएर आउनु भएका अधिकांश नेपालीले मेलामा भीड अत्यधिक भएको हुँदा त्यहाँ जाँदा सचेत हुन श्रद्धालुलाई अनुरोध गर्नुभएको छ। 
महाकुम्भबाट फर्किनु भएका नेपालगन्ज ११ का दिपक वैश्यले नेपालीका लागि नेपाल सरकारले पनि त्यहाँ सहजीकरण गर्ने व्यवस्था गरेको भए राम्रो हुने सुझाव दिनुभयो।  

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...