राप्ती सोनारी महोत्सवमा दर्शकको अभाव
बाँकेको राप्ती सोनारीमा आयोजित प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव २०८१ मा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको छैन। फागुन २ गते राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले उद्घाटन गरेको यो महोत्सवको छैठौं दिनसम्म पनि दर्शकहरूको उपस्थिति न्यून रहेको छ।
आयोजक राप्ती सोनारी उद्योग वाणिज्य सङ्घले करिब ३ लाख दर्शकको अपेक्षा राखेको भए पनि हालसम्मको उपस्थिति निराशाजनक रहेको छ। सार्वजनिक बिदाको दिनसमेत दर्शकहरूको संख्यामा उल्लेख्य वृद्धि नभएपछि आयोजकहरू चिन्तित बनेका छन्।
महोत्सवमा नवीन प्रविधिजन्य उत्पादनहरू, महिलाद्वारा उत्पादित वस्तुहरू तथा स्थानीय उत्पादनहरूलाई प्रमुख आकर्षणको रूपमा प्रस्तुत गरिएको छ। तर, दर्शकहरूको कमीका कारण स्टल संचालकहरू पनि चिन्तित बनेका छन्। दिनभरिमा ३०० रुपैयाँ मात्रै आम्दानी भएपछि उनीहरूले आफ्नो लगानी डुब्ने आशंका व्यक्त गरेका छन्। केही व्यापारीहरूले स्टल हटाउन थालेका छन् भने केहीले भोलि हटाउने बताएका छन्।
यस महोत्सवमा दर्शकहरूको सहभागिता किन न्यून रह्यो भन्ने विषयमा विभिन्न अड्कलबाजी भइरहेका छन्। कसैले प्रचारप्रसारको कमीलाई कारण मानेका छन् भने कसैले महोत्सवमा नयाँपनको अभाव भएकोले दर्शकहरू आकर्षित हुन नसकेको बताएका छन्। जे भए पनि, दर्शकहरूको न्यून उपस्थिति राप्ती सोनारी महोत्सवको लागि एउटा चुनौतीको रूपमा देखिएको छ।































प्रतिक्रिया