बाँके किसान महासंघको ४२ बुँदे घोषणापत्र: आधुनिक कृषि र उत्पादन वृद्धिको लागि पहल
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ बाँकेले कृषि क्षेत्रको विकास र किसानहरुको हितलाई लक्षित गर्दै ४२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका जिल्ला अध्यक्ष कृष्ण विक्रम केसीले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन्।
फागुन १० र ११ गते कोहलपुरमा आयोजित दुई दिने कार्यशालामा उठेका विषयवस्तुहरुलाई समेटेर यो घोषणापत्र तयार पारिएको हो। कार्यशालामा अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तथा किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालको प्रमुख आतिथ्यता रहेको थियो।
घोषणापत्रमा उल्लेखित विषयहरुलाई कार्यान्वयन गर्नका लागि जिल्लाका आठवटै पालिका र लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने अध्यक्ष केसीले जानकारी दिए। कार्यशालामा बाँकेका १२५ अगुवा कृषकहरुको सहभागिता रहेको थियो, जहाँ आधुनिक कृषि प्रणाली र उत्पादन वृद्धि सम्बन्धी विभिन्न विधिहरुमाथि छलफल भएको थियो। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी भोज बहादुर रावलले कृषकहरुलाई प्रशिक्षण दिएका थिए।
कार्यशालाले बाँके जिल्लामा कृषि उत्पादनका सम्भावना र चुनौतीहरुको पहिचान गरी घोषणापत्र जारी गरेको हो। पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री आरती पौडेल, केन्द्रीय सदस्य मोती भुषाल र कोषाध्यक्ष सरिता थापालगायतको उपस्थिति रहेको थियो।































प्रतिक्रिया