खजुरा ४ मा ग्रासरुट फुटबल प्रशिक्षण सुरु, वडाध्यक्षद्वारा खेलकुद सामग्री वितरण
टार्जन वली
खजुरा गाउँपालिका वडा नम्बर ४ मा साना बालबालिका तथा युवालाई लक्षित गरी ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ। न्यु हिमालय युवा क्लब एफ गाउँको आयोजना र खजुरा गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा जनकल्याण माविको मैदानमा प्रशिक्षणको थालनी भएको हो।
प्रशिक्षणको उद्घाटन गर्दै खजुरा ४ का वडाध्यक्ष टेकबहादुर रोकायले सहभागी खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गर्नुभयो। उहाँले खेलकुद क्षेत्रको विकासमा वडा कार्यालय सदैव तत्पर रहने बताउँदै पालिकाले यस क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
न्यु हिमालय युवा क्लबका अध्यक्ष काशीराम शर्माले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण सुरु गरिएको जानकारी दिनुभयो। उहाँले युवापुस्तालाई लागूऔषध दुव्र्यसनी र आपराधिक गतिविधिबाट टाढा राख्दै सभ्य समाज निर्माणमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। सीमा क्षेत्रसँग जोडिएको यस भेगमा युवाहरूलाई गलत बाटोमा जानबाट रोक्न खेलकुद अपरिहार्य रहेको उहाँको भनाइ थियो।
Advertisement
कार्यक्रममा वडा सदस्य बलबहादुर कठायतले फुटबल क्षेत्रबाट पनि राष्ट्रलाई योगदान दिन खेलाडी उत्पादनको कार्यक्रम ल्याइएको बताउनुभयो।
एन्फा फुटबल बाँकेका प्रशिक्षक युवराज शाहीले निःशुल्क प्रशिक्षण दिइरहनुभएको छ।
नयाँ फुटबल खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै प्रशिक्षणको कार्यक्रम आवश्यकता रहेको एन्फा फुटबल बाँकेका प्रशिक्षक युवराज शाहीले बताउनुभयो ।यस प्रशिक्षणले भविष्यमा नेपाली फुटबलकै लागि अब्बल दर्जाका खेलाडी उत्पादन गर्न मदत पुग्ने पनि विश्वास गरेको प्रशिक्षक युवराज शाहीले बताउनुभयो।
Advertisement
न्यु हिमालय युवा क्लबले खेलाडी उत्पादनका साथसाथै एउटा राम्रो समाज निर्माण गर्ने लक्ष्य लिएको अध्यक्ष शर्माले बताउनुभयो। यो ग्रासरुट फुटबल प्रशिक्षण खजुरा क्षेत्रका युवा प्रतिभाहरूलाई आफ्नो क्षमता विकास गर्ने महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ।






































प्रतिक्रिया