Close sidebar

नेपालगन्ज नाका सुधारमा एमाले नेता थापाको ध्यान, पर्यटक अनुकूल सेवा प्रवाहमा जोड

बाँके – नेकपा एमाले बाँकेका उप-सचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख किशोर थापाले नेपालगन्जको जमुनाहा नाका क्षेत्रलाई पर्यटकमैत्री बनाउनका लागि विभिन्न सम्बन्धित कार्यालयहरूको निरीक्षण तथा सरोकारवालासँग भेटघाट गरेका छन्।
थापाले नेपालगन्जस्थित भन्सार र अध्यागमन कार्यालय पुगेर सेवाप्रवाहको अवस्था बुझ्दै ती कार्यालयमा सुधार आवश्यक रहेको बताए। उनले नाका भएर आउने भारतीय पर्यटकहरूको संख्यामा वृद्धि गर्नका लागि सेवा चुस्त र सहज बनाउनुपर्नेमा जोड दिए। विशेषगरी आगमन तथा प्रस्थानको छाप लगाउने सेवा कोरोना महामारीपछि हालसम्म पनि सुचारु नभएको विषयमा चासो व्यक्त गर्दै यसलाई पुनः संचालन गर्न राजनीतिक तथा प्रशासनिक पहल आवश्यक रहेको बताए।

नेपालगन्ज अध्यागमन कार्यालय प्रमुख दुर्गा कुमारी ओलीसँग भेट्दा, ओलीले उक्त सेवा भारत सरकारकै कारण रोकिएको जनाउँदै नेपाल पक्षबाट मात्रै सेवा दिन नसकिने स्पष्ट पारेकी थिइन्। उनले यसबारेमा विभागमा पटक–पटक कुरा उठाइएको पनि जानकारी दिइन्।
नेता थापाले जमुनाहा सीमा क्षेत्र तथा आइपिएस क्षेत्रको पनि अवलोकन गरेका थिए। उनले भारतबाट आउने पर्यटकहरूलाई राति १० बजेसम्म प्रवेश गर्न अनुमति दिइएपनि भन्सार र यातायात कार्यालयबाट प्रदान गरिने पटके सुविधा राति १० बजेसम्म नहुँदा पर्यटकले सास्ती खेप्नुपर्ने स्थिति रहेको बताए। यस अवस्थाले पर्यटकको अनुभवमा नकारात्मक असर पार्ने भन्दै सुधारको मागसमेत गरे।
त्यस्तै, थापाले भन्सार सेवा र पटके सुविधा एउटै स्थानबाट उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिएका छन्। यसले पर्यटकलाई अनावश्यक झन्झटबाट जोगाउने र नेपालगन्ज हुँदै प्रवेश गर्ने पर्यटकको संख्या वृद्धि हुने उनको भनाइ थियो।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुखसँग भेट गर्न प्रयास गरे पनि भेट हुन नसकेको थापाले जनाए। उनले साना-तिना सुधारमार्फत पर्यटकमैत्री नाका विकास गर्न सके पर्यटन, व्यापार र स्थानिक अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।

Advertisement

सम्बन्धित खवर

बैजनाथमा ७०% अनुदानमा ६० किसानलाई मिनी टिलर वितरण, २०३ किसानलाई उपलब्ध गराउने लक्ष्य

किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कृषिको आधुनिकीकरण र उत्पादन...

विपद् जोखिम न्यूनीकरणमा कोहलपुर नगरपालिकाको सक्रियता : सुरक्षित र सचेत समुदाय निर्माणतर्फ सशक्त कदम

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन आजको समयको महत्वपूर्ण आवश्यकता...

बाँकेको क्रिकेट अब नयाँ उचाइतर्फ, सुफियान पठानको नेतृत्वमा नयाँ कार्यसमिति गठन

बाँके जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा–२०८३ बाट सुफियान...