मकैको खोस्टाबाट टोपी र झोला निर्माण गर्दै राप्ती सोनारी गाउँपालिकाका महिला
बाँके — बाँकेको राप्ती सोनारी गाउँपालिकामा महिलाहरू मकैको पोस्कर (खोस्टा) प्रयोग गरी टोपी र झोला निर्माणमा लागेका छन्।
गाउँपालिकाले सञ्चालन गरेको ३० दिने सीपमूलक तालिमका माध्यमबाट उनीहरू स्वरोजगार बन्ने दिशामा अघि बढिरहेका छन्।
Advertisement
तालिम गाउँपालिकाको वडा नम्बर ४ स्थित वडा कार्यालयमा सञ्चालन भइरहेको छ। तालिममा वडा नम्बर ३, ४ र ५ का २० जना महिलाको सहभागिता रहेको छ।
तालिममा प्रशिक्षक स्नेहा महर्जनले महिलाहरुलाई मकैको खोस्टा र थाकलको पात प्रयोग गरी टोपी र झोला बनाउने सीप प्रदान गरिरहेकी छन्।
Advertisement
वडा नम्बर ४ की कल्पना थारु भन्छिन्, “गाउँघरमा सजिलै पाइने मकैको खोस्टा प्रायः खेर जान्थ्यो। गाईवस्तुलाई दिइन्थ्यो, नत्र जलाइन्थ्यो।
अहिले त्यसैलाई उपयोग गरेर आयआर्जन गर्न सकिने सम्भावना देखिएको छ।” उनी थप्छिन्, “सीप त सिकिन्छ, तर बजार व्यवस्थापन चुनौतीपूर्ण हुन्छ। तर खेर गएका वस्तु उपयोग गरेर आम्दानी हुने देखिएकाले हामी उत्साहित छौं।”
Advertisement
राप्ती सोनारी गाउँपालिकाले वातावरणमैत्री उपायको प्रवर्द्धन गर्ने उद्देश्यले प्लास्टिकजन्य सामग्रीको विकल्पको रूपमा मकैको खोस्टाबाट उत्पादित सामग्रीलाई प्रयोगमा ल्याउने आशा राखेको छ। पालिकाका अनुसार महिलालाई आर्थिक रूपमा सशक्त बनाउने र स्वरोजगारमा प्रोत्साहन गर्न यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिनेछन्।






































प्रतिक्रिया