बदलिँदै छ गाउँ, चम्किँदैछ दैनिकी
टार्जन ओली
राप्तीसोनारी–४ लटनीयाका रामबहादुर थारु बिहान सबेरै उठ्छन् । धानखेतमा पानी पुर्याउने तयारी गर्छन् । पहिले साँघुरो गोरेठो बाटो हिँड्नुपर्थ्यो, आजभोलि भने मोटरसाइकल लिएर सहजै खेत पुग्छन् । उनी भन्छन्, ‘पहिलेको जस्तो हैन अबको दिनचर्या । बाटो राम्रो भएपछि खेतमा जान सजिलो, अस्पताल जान सजिलो, बजार जान सजिलो भएको छ ।’
राप्तीसोनारी गाउँपालिका–४ मा पछिल्लो समय भएका पूर्वाधार निर्माणले स्थानीय बासिन्दाको दैनिकी मात्र होइन, जीवनशैलीमा नै परिवर्तन ल्याएको छ । श्यामलाल चौधरी झन्डै दुई दशकदेखि यही वडामा बस्छन् । उनी भन्छन्, ‘नालीसहितको सडक बन्यो, रिङरोड जोडियो । लटनीया पुग्न हिलो छिचोल्नुपर्दैन । यिनै योजनाले हामीलाई मान्छे बनाएको हो ।’
नयाँबस्तीदेखि लटनीया जोड्ने रिङरोडले आवतजावतमा सहजता ल्याएको छ । रामकुटीदेखि माहुचोकसम्म कालोपत्रे गरिएको डेढ किलोमिटर लामो सडकले पनि आवागमनको स्वरुप फेरिएको छ । लालपुर, डङपुरुवा, शिवलालपुर, कुम्भरजस्ता टोलहरूमा पिसिसी सडक बनेपछि हिलो–धुलोको सास्ती टरेको छ । कल्पना चौधरी भन्छिन्, ‘सडककै कारण हस्पिटलदेखि विद्यालयसम्म सजिलै जान पाइन्छ । पहिला त असिनपसिन भएर हिँड्नुपर्थ्यो ।’
स्वास्थ्यमा टाढाको दूरी घट्यो
वडामा १५ शैय्याको अस्पताल निर्माण भएपछि टाढा जानुपर्ने बाध्यता हटेको छ । पहिले सामान्य उपचारका लागि समेत नेपालगन्ज वा कोहलपुर जानुपर्ने अवस्था थियो । सुशिला थारु अस्पतालको सेवा पाएपछि सन्तुष्ट छिन् । ‘घर नजिकै उपचार मिल्यो, जटिल बिरामी पनि हेर्छन् । हामीजस्ता गरिबलाई यही अस्पताल ठूलो राहत हो,’ उनी भन्छिन् ।
सिँचाइले बढायो उत्पादन
सिक्टा सिँचाइ आयोजना लटनीयादेखि रामकुटीसम्म विस्तार भएपछि सयौं बिगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ । मलैया सिँचाइ नाली र अन्य कुलोहरू समेत सञ्चालनमा आएपछि कृषिमा भर पर्ने किसानलाई राहत मिलेको छ । रामबहादुर थारु भन्छन्, ‘अब हाम्रा खेत सुक्दैनन्, पानी सधैं आइरहन्छ । उत्पादन पनि बढेको छ ।’
विपन्नका लागि बासको व्यवस्था
गाउँपालिका–४ मा विपन्न नागरिकका लागि आवास निर्माण पनि प्राथमिकतामा परेको छ । चालु वर्षमा १३ वटा घर निर्माण भएका छन् । वडाअध्यक्ष मिनराज खड्काका अनुसार गौरी गाउँमा २, माहुमा ४, लालपुरमा ३, लटनीयामा १, बुद्धचोकमा १ र राजपुरमा २ वटा विपन्न आवास निर्माण भएका छन् । वडा सदस्य नमुना विक भन्छिन्, ‘वास्तवमा बासविहीनहरूलाई यो योजना जीवनको पुनः सुरुवातजस्तै बन्यो ।’ आवास निर्माण भएपछि बासविहीन भएकाहरुले खुसी व्यक्त गरेका छन् ।
खानेपानी र सरसफाइमा सुधार
कुम्भरमा बाबा बर्फानी खानेपानी आयोजना सम्पन्न भएको छ । स्यालो टुबेल बोरिङ ४५ वटा, डिपबोरिङ १ वटा र गमराह टोलमा ३ वटा खानेपानी ड्रम जडान गरिएपछि खानेपानी सहज भएको छ । वडा सदस्य सोहानी थारुका अनुसार, ‘ड्रम र बोरिङले टोलटोलमा पानी पुग्न थालेको छ । पहिले पानी ल्याउन घण्टौं हिँड्नुपर्थ्यो ।’
शिक्षामा पूर्वाधार थपियो
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धामपुर र कुम्भरमा भवन निर्माण गरिएका छन् । यसले विद्यार्थीलाई राम्रो वातावरणमा पढ्न सहयोग पुगेको छ ।
तटबन्धले जोगाएको बस्ती
मरंगा, मलैया र चप्परसोता खोलामा तटबन्ध निर्माण भएपछि बाढीका बेला बस्ती डुबानको डर कम भएको छ । वडाध्यक्ष मिनराज खड्का भन्छन्, ‘पहिले बर्सात आयो कि मान्छेहरू त्रसित हुन्थे, अहिले तटबन्धले सुरक्षित बनाएको छ ।’
बजेट जनमुखी
चालु आर्थिक वर्षमा वडा नम्बर ४ ले ९५ लाख रुपैयाँको बजेट पाएको छ । वडाले योजनाको छनोट गर्दा जनताको आवश्यकता र मागलाई प्राथमिकता दिएको छ । वडा सदस्य मदन थारु भन्छन्, ‘योजना बनाउने बेलामा हामी जनप्रतिनिधिले घरघर पुग्यौं । जनताकै चाहना अनुरूप काम भयो ।’
स्थानीयको सन्तुष्टि
स्थानीय कल्पना चौधरी भन्छिन्, ‘हाम्रो जीवनमै यति धेरै परिवर्तन होला भन्ने कल्पना गरेका थिएनौं । घर, बाटो, पानी, स्वास्थ्य, सिँचाइ सबथोक व्यवस्थित हुँदैछ ।’ राप्ती सोनारी–४ मा भएका विकास योजनाहरूले बिस्तारै तर स्थायीत्वका साथ जनताको जीवनलाई सहज बनाइरहेको छ । केवल संरचना मात्र होइन, आत्मविश्वास, सम्मान र सम्भावनाको नयाँ ढोका पनि खुलेको छ ।
‘घरदौलोमै सेवा पुर्याउने योजनामा छौं’
हामीले वडाको समग्र विकासलाई लक्षित गरेर योजनाहरू सञ्चालन गरेका छौं । जनप्रतिनिधि भएर हामी जनताकै सेवा गर्न आएका हौं, त्यसैले हरेक योजना जनताकै घरदैलोबाट सुरु भएको हो । हामीले योजना छनोट गर्ने बेलामा सर्वप्रथम वडाका बासिन्दासँग छलफल गर्यौं, उनीहरूको माग र समस्या बुझ्यौं । त्यसपछि मात्रै योजना कार्यान्वयनमा गयौं ।
वडामा अस्पताल निर्माण हुँदा टाढा जानुपर्ने बाध्यता हटेको छ । अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा दिन थालेको छ । सिँचाइ नाली र कुलो निर्माणले किसानहरू लाभान्वित भएका छन् । अहिले सयौं बिगाहा खेतमा समयमै पानी पुग्छ । उत्पादनमा बृद्धि भएको छ, आत्मनिर्भर हुने बाटो खुलेको छ ।
हामीले सडकलाई प्राथमिकतामा राख्यौं, किनभने पूर्वाधारको मूल आधार सडक हो । रामकुटीदेखि माहुचोकसम्मको कालोपत्रे सडक, नयाँबस्ती–लटनीयाको रिङरोड, विभिन्न टोलमा बनेका पिसिसी सडकहरूले जनजीवनमा ठूलो सहजता ल्याएको छ । अब मान्छेहरू हिलो र धुलोको सास्तीबाट मुक्त भएका छन् । खानेपानीको व्यवस्था गर्दा हामीले साना उपकरणदेखि ठूला आयोजनासम्म सञ्चालन गरेका छौं । कुम्भरमा बाबा बर्फानी खानेपानी आयोजना, स्यालो टुबेल बोरिङहरू, गमराह टोलका ड्रमहरू त्यसका उदाहरण हुन् ।
साथै, हामीले कमजोर वर्गलाई सघाउने नीति अपनाएका छौं। गौरीगाउँ, माहु, लालपुर, लटनीया, बुद्धचोक, राजपुरका गरी १३ वटा विपन्न परिवारका लागि नयाँ घर निर्माण गरिदियौं । अब तिनीहरू वर्षा, जाडो र गर्मीबाट सुरक्षित छन् । हामीले चालु आर्थिक वर्षमा ९५ लाख रुपैयाँ बजेट पाएका थियौं। त्यो बजेट जनताको प्रत्यक्ष लाभ हुने क्षेत्रमा खर्च गरिएको छ । काम देखिने किसिमका छन्, जनताले महसुस गर्न सक्ने खालका छन् ।
हाम्रो वडाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृष































प्रतिक्रिया