कोहलपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक जाँच तथा सचेतना कार्यक्रम सम्पन्न
कोहलपुर, बाँके — सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कोहलपुर ११ नयाँ बसपार्कमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा तथा यातायात व्यवस्था कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
Advertisement
कार्यक्रममा बाँके क्षेत्रका गाडी, बसका चालक तथा सहचालकहरूलाई वर्षायाममा हुने यान्त्रिक तथा मनसुनजन्य दुर्घटनाबाट कसरी बच्ने भन्ने विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा सवारी साधनको यान्त्रिक जाँचसमेत गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुष्कर पन्तका अनुसार, वर्षायाममा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले सो न्यूनीकरणका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुनेछन्।
Advertisement
उनले भने, “सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरी मात्रको भूमिका पर्याप्त हुँदैन। यसका लागि चालक, सहचालक, सवारीधनी, यातायात व्यवस्था कार्यालय, सडक विभागलगायत सबै सरोकारवाला निकायहरूको संयुक्त प्रयास आवश्यक छ।”
कार्यक्रममा वरिष्ठ सई प्रवीण आचार्यले पनि दुर्घटना न्यूनीकरणका उपायबारे सहभागीहरूलाई जानकारी गराए। उनले गाडीको नियमित मर्मत तथा चालकहरूको सतर्कता सवारी सुरक्षाका लागि अत्यन्त जरुरी भएको बताए।
Advertisement
इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले सडक सुरक्षामा प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै नागरिकको सक्रिय सहभागिताले मात्र दिगो सुधार सम्भव हुने बताइन्।
कार्यक्रममा बागेश्वरी यातायात प्राली कोहलपुरका अध्यक्ष मनप्रसाद आचार्यले ट्राफिक प्रहरीले सञ्चालन गर्ने यस्ता जनचेतनामूलक कार्यक्रम सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुने बताए।
उक्त कार्यक्रममा करिब दर्जनौं सवारी साधनको जाँच गरिनुका साथै सहभागी चालक तथा सहचालकहरूलाई सचेतना सम्बन्धी सामग्रीहरू पनि वितरण गरिएको थियो।






































प्रतिक्रिया