हिमालयन बैंकले गर्यो कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण
टार्जन वली
राप्तीसोनारी, बाँके — आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वमा समेत अग्रसर हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा कार्यालय राप्तीसोनारीमार्फत गम्भीर कुपोषणका समस्या भोगिरहेका ३० जना बालबालिकालाई खाद्यान्न सहयोग प्रदान गरेको छ। राप्तीसोनारी गाउँपालिका–२ अगैयामा आयोजित एक कार्यक्रममार्फत बैंकले बालबालिकालाई पोषणमा आधारित सामग्री वितरण गर्दै समाजप्रति आफ्नो दायित्व निर्वाह गरेको हो।
कार्यक्रममा सहभागी हरेक बालबालिकालाई १० केजी चामल, ३ केजी दाल, ३ केजी लिटो तथा दुई क्यारेड अण्डा वितरण गरिएको थियो। यी सामग्रीले करिब ४५ दिनसम्म ती परिवारलाई पोषणजन्य राहत पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै वितरण गरिएका सामग्रीले उनीहरूको पोषण अवस्थाको सुधारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
Advertisement
कार्यक्रमको सभापतित्व बैंकका शाखा प्रवन्धक सनत बि.क. ले गरेका थिए भने प्रमुख अतिथि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरवकुमार लामिछाने रहेका थिए। साथै, गाउँपालिकाको स्वास्थ्य शाखाबाट प्रतिनिधित्व गर्दै रामचन्द्र ओलीले समेत कार्यक्रमलाई साथ दिएका थिए। ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै शाखा प्रवन्धक बि.क. ले भने, “हाम्रो बैंक केवल आर्थिक कारोबारमा सीमित छैन, समाजप्रति उत्तरदायी संस्था हो। जोखिमपूर्ण अवस्थाका बालबालिकालाई सहयोग पुर्याउनु हाम्रो दायित्व हो भन्ने भावनाका साथ यो राहत कार्यक्रम लिएर आएका हौं।”
त्यस्तै, प्रमुख अतिथि लामिछानेले हिमालयन बैंकको सामाजिक भावनाको प्रशंसा गर्दै भने, “सरकारी कार्यक्रम आफ्नै ठाउँमा छन्, तर समुदायमै पुगेर निजी क्षेत्रबाट यस्ता पहल हुनु प्रेरणादायी उदाहरण हो।”
बैंकले आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साना तर सार्थक यस्ता प्रयासहरूले कुपोषण विरुद्धको दीर्घकालीन लडाइँमा एक उज्यालो किरण बन्न सक्ने विश्वास समेत गरिएको छ।


































प्रतिक्रिया