“३२ कटेपछि नेतृत्व हस्तान्तरण: लुम्बिनी अनेरास्ववियुमा हेमन्त भट्टराईसहित नयाँ पुस्ताको युग सुरु”
“यो जिम्मेवारी सम्मान पनि हो, चुनौती पनि। अब संगठनलाई थप अनुशासित, सशक्त र विद्यार्थीको पक्षमा बोल्ने बनाउने हाम्रो पहिलो लक्ष्य हो।” – अनेरास्ववियु लुम्बिनी प्रदेशका नवनियुक्त सह–संयोजक क. हेमन्त भट्टराईले छोटो प्रतिक्रिया दिंदै भने।
३२ वर्षे उमेर सीमा लागू गरेपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लुम्बिनी प्रदेशमा नेतृत्व हस्तान्तरणको एउटा निर्णायक मोड आएको छ। ‘पुराना अनुहार हटाउने होइन, नयाँ पुस्ता अघि ल्याउने’ भन्ने मूल सन्देशसहित केन्द्रले लुम्बिनीमा नेतृत्व पुनःगठन गरेको हो।
Advertisement
यो परिवर्तनसँगै संगठनभित्र युवाको प्रतिनिधित्वलाई जीवन्त बनाउँदै, संगठनलाई अझ सशक्त बनाउने मार्ग खुलेको देखिन्छ। लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी क. आर्जन रिजालले पाएका छन् भने संयोजकमा क. मदन भण्डारी चयन भएका छन्। तीन सह–संयोजकमध्ये एक हुन्, बागेश्वरी बहुमुखी क्याम्पसबाट संगठन यात्रा सुरु गरेका, अहिलेसम्म निरन्तर सक्रिय रहेका क. हेमन्त भट्टराई।
उहाँको यात्रा एक प्राक–कमिटी सदस्यबाट सुरु भएर स्ववियु उपसभापति, जिल्ला सदस्य हुँदै प्रदेश कमिटीको संगठन विभाग प्रमुख र कार्यालय सचिवसम्म पुगेको हो। आज उहाँ नेतृत्वको मूल वृत्तमा सह–संयोजकका रूपमा उभिएका छन्।
अनेरास्ववियुका एक नेताका शब्दमा, “हेमन्तजस्ता अनुशासित र संगठन बुझ्ने व्यक्ति नेतृत्वमा आउनु भनेको परिवर्तनको सही सुरुवात हो।”
Advertisement
प्रदेश नेतृत्वको पुनःसंरचनासँगै १२ वटै जिल्लामा पनि नयाँ इन्चार्जहरू तोकिएका छन्। कपिलवस्तुमा क. विष्णु घिमिरे, बाँकेमा क. वर्षा मल्ल, बर्दियामा क. मनिषा योगी लगायतका युवाहरुलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
अनेरास्ववियु लुम्बिनीले यो नेतृत्व हस्तान्तरणलाई संगठन सुदृढीकरणको ‘स्टार्टिङ प्वाइन्ट’ मानेको छ। नयाँ पुस्ताका नेताहरूबाट संगठनले अब शैक्षिक सुधार, विद्यार्थी अधिकारका सवाल र राजनीतिक चेतनाका मुद्दामा अझै बढी सक्रियता देखाउने अपेक्षा गरिएको छ।
Advertisement
“संगठन पुराना दस्तावेजको बोझमा होइन, नयाँ सोच र ऊर्जा लिएर अघि बढ्नुपर्छ” — अनेरास्ववियु लुम्बिनीका एक युवा नेताले भनेजस्तै, नेतृत्वको यो नयाँ पुस्ता अब विचार, शैली र दृष्टिकोणमै भिन्नता ल्याउने तयारीमा देखिन्छ।
पुराना पुस्ताको सम्मान गर्दै नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने यो निर्णय केवल संगठनभित्रको आन्तरिक फेरबदल होइन—यो भविष्यको विद्यार्थीकै मुद्दामा आधारित लडाइँको रणनीतिक तयारी पनि हो।






































प्रतिक्रिया