कोहलपुरमा महिला नेतृत्वबाट विद्यार्थी उत्प्रेरित
कोहलपुर, साउन २९ – कोहलपुर–२ मनकामना चोकस्थित मनकामना पब्लिक एकेडेमीले बिहीबार आयोजना गरेको विशेष कार्यक्रमले विद्यार्थीहरूलाई महिला नेतृत्वको जीवन–यात्रा र संघर्षका कथाबाट परिचित गराउँदै ठूलो प्रेरणा प्रदान गरेको छ।
डिभाइन डिस सभाहलमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरू पहेंलो पोशाकमा अनुशासित शैलीमा बसेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ति अधिकारी, कोहलपुर नगरपालिकाकी कार्यवाहक मेयर संगिता सुबेदी, वडा नं. ११ की अध्यक्ष कल्पना शर्मा अधिकारी, इलाका प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनाल, नगर शिक्षा शाखा अधिकृत शिला गौतम, इलाका प्रशासन प्रमुख अन्तिम सिजाली लगायत महिला नेतृत्वकर्ताहरूको उपस्थिति थियो।
प्रदेश सभा सदस्य अधिकारीले आफ्नो राजनीतिक यात्रा सुनाउँदै, बाल्यकालदेखि पार गरेका कठिनाइ र महिलाले राजनीतिमा पुरुषभन्दा धेरै चुनौती सामना गर्नुपरेको अनुभव व्यक्त गरिन्। उनले राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्म महिलाले पाएको स्थानको उदाहरण दिँदै “अठोट र निरन्तरको मेहनतले असम्भव पनि सम्भव हुन्छ” भन्ने सन्देश दिइन्।
कार्यवाहक मेयर सुबेदीले २०१५ सालमा जेसिजमार्फत सुरु भएको आफ्नो सार्वजनिक जीवनको अनुभव बाँड्दै, विभिन्न संस्थागत भूमिकाबाट नगरपालिकासम्मको यात्रा कसरी तय भएको हो भन्ने रोचक कथा सुनाइन्। वडा अध्यक्ष कल्पना अधिकारीले राजनीति, घर–परिवार र समाजबीच सन्तुलन मिलाउन महिलाले भोग्ने संघर्ष र समाजमा पितृसत्तात्मक दृष्टिकोणले ल्याउने चुनौतीबारे प्रस्ट पारिन्।
प्रहरी नायब उपरीक्षक खनालले आफ्नो शैक्षिक पृष्ठभूमि, प्रहरी सेवामा प्रवेशका चरणहरू र बालबालिकाले समस्या पर्दा लिनुपर्ने कानुनी सहायता प्रक्रियाबारे जानकारी दिइन्। शिक्षा अधिकृत गौतमले नर्सिङ पेशाबाट शिक्षा क्षेत्रमा प्रवेश गरेको कारण र अनुभव सुनाइन् भने प्रशासन प्रमुख सिजालीले पनि आफ्ना व्यावसायिक यात्राबाट सिकेका प्रेरणादायी कुराहरू प्रस्तुत गरिन्।
कार्यक्रममा कक्षा ८ की जेनिशा खड्काले स्वागत मन्तव्य राखिन्, आर्जु घर्ति मगरले अंग्रेजी भाषण दिइन्। विद्यार्थीहरूले महिला नेतृत्वसँग प्रत्यक्ष संवाद गर्दै, राजनीतिक पदमा पुग्ने प्रक्रिया, कानुनी जिम्मेवारी, प्रहरी सेवाको चुनौती, शिक्षा प्रशासनको भूमिका लगायतका जिज्ञासा राखे।
विद्यालयका प्रिन्सिपल नवकिरण शाहले “सिर्फ पाठ्यपुस्तक पढेर मात्र जीवनको सम्पूर्ण ज्ञान प्राप्त हुँदैन, जीवन्त अनुभवबाट पनि सिक्नुपर्छ” भन्दै यस्तो कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाए।
तीन घण्टा लामो उक्त कार्यक्रममा अभिभावक, विद्यार्थी र सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो। विद्यालयका अध्यक्ष ओम प्रकाश चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय गानसहित औपचारिक शुरुवात भएको थियो।































प्रतिक्रिया