Close sidebar

६ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा, ४९ लाखभन्दा बढी राजस्व सङ्कलन

बाँके — बाँकेमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कडाइका साथ कारबाही बढाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि कात्तिकसम्म ६ हजार ४२५ वटा सवारीसाधनलाई कारबाही गरी ४९ लाख ४३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधनमाथि निरन्तर निगरानी र कारबाही भइरहेको छ।
“नागरिकप्रति ट्राफिक प्रहरी गम्भीर छ,” उहाँले भन्नुभयो, “चालु आवको हालसम्म ६ हजार ४२५ वटा सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीबाट ४९ लाख ४३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ।”

Advertisement

प्र.नि शाहीका अनुसार ट्राफिक प्रहरीको काम केवल राजस्व सङ्कलन मात्र नभई सचेतना फैलाउने पनि हो।
“हामीले जिल्लाका विभिन्न स्थानमा ट्राफिकसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू अगाडि बढाएका छौँ,” उहाँले थप्नुभयो, “नागरिकलाई नियमपालन र सडक सुरक्षा प्रति सचेत बनाउने काममा निरन्तर प्रयास भइरहेको छ।”

ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म बाँके जिल्लामा ३५१ वटा साना ठूला सवारीसाधन दुर्घटना भएका छन्। ती दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ६४७ जना घाइते भएका छन्।

Advertisement

दुर्घटना न्यूनीकरण र रोकथामका उद्देश्यले ट्राफिक प्रहरीले जिल्लाभर ३१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ३० हजार ८७१ जना नागरिक लाभान्वित भएका छन्।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले संयुक्तरूपमा सञ्चालन गरेको ‘ट्राफिक नियम उल्लङ्घनविरुद्ध विशेष कारबाही अभियान’ अन्तर्गत नौ दिनमा ३८ वटा यात्रुवाहक इभी (EV) गाडी र १९ वटा मोटरसाइकल कारबाहीमा परेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीका अनुसार कात्तिक ७ देखि १५ गतेसम्मको अवधिमा नियम उल्लङ्घन गर्ने ३८ वटा इभी गाडी नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालय नेपालगन्ज पठाइएको हो। ती गाडीहरू नम्बर प्लेट परिवर्तन गरी यात्रु ओसारपसार कार्यमा प्रयोग गरिएका थिए।

त्यस्तै, स्वरूप परिवर्तन (मोडिफाइ) गरी ध्वनि प्रदूषण गर्ने १९ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइ ट्राफिक जरिवाना गरिएको थियो। प्रहरीले ती मोटरसाइकल पुनः पुरानै स्वरूपमा फर्काउने गरी चालकहरूलाई सचेत गराएको छ।

स्वरूप परिवर्तन, ध्वनि प्रदूषण र होहल्ला गर्ने मोटरसाइकलविरुद्ध बाँकेमा प्रहरीले संयुक्त अभियान सञ्चालन गरिरहेको जनाएको छ।
“ध्वनि प्रदूषण र स्वरूप परिवर्तनजन्य सवारीसाधनलाई अब सहन गरिँदैन,” सूचना अधिकारी क्षेत्रीले भने, “सडकमा अनुशासन र शान्ति कायम गर्न प्रहरीले शून्य सहनशीलता नीति अपनाएको छ।”

सम्बन्धित खवर

जन्मदिनको खर्च आश्रममा, मानवताको अनुपम उदाहरण बने समाजसेवी केशव शाही

होटेलको तडकभडक छाडेर आश्रमका असहाय आमाबुवासँग मनाए जन्मोत्सव कोहलपुर,...

ब्रिजको शानदार जित ,उपाधिको बलियो दाबेदार बन्दै स्कुल

बाँके । प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १...

पाँचौँ पटक पनि कोहलपुरकै राज : राष्ट्रपति रनिङ्ग शिल्डमा फेरि इतिहास

कोहलपुर, बाँके — खेलकुद क्षेत्रमा लगातार आफ्नो दबदबा कायम...